महोत्तरीका १२ सहिद परिवारलाई आर्थिक सहयोगसहित सम्मान
जनकपुर । मधेस प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका महोत्तरीका १२ जना सहिद परिवारलाई आज नगद आर्थिक सहयोगसँगै सम्मान गरेको छ ।

मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा आज महोत्तरीको खैरमारामा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह र नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले सहिद परिवारलाई रु. एक/एक लाखको चेकसहित सम्मान गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले जनयुद्धको बलमा प्राप्त भएका उपलब्धिहरूलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाले सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले जनयुद्ध र मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई प्रदेश सरकारले जीविकोपार्जनका लागि आर्थिक सहयोगका साथै विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याइसकेको बताउनुभयो ।
जनयुद्धका सहिद परिवारलाई पनि रु. तीन–तीन लाख रुपैयाँ सहयोग गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा रु. एक÷एक लाख र दोस्रो चरणमा बाँकी रकम प्रदान गरिने मन्त्री साहले जानकारी दिनुभयो ।
यसअघि मधेस प्रदेश सरकारले गत फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी ४० जना जनयुद्धका सहिद परिवारलाई र फागुनको तेस्रो साता सप्तरीका १२ जना जनयुद्धका सहिद परिवारलाई पनि रु. एक÷एक लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्