चालू आर्थिक वर्षमा बाँकेमा क्षयरोगबाट २५ जनाको मृत्यु
नेपालगन्ज । बाँकेमा चालू आर्थिक वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो ।
गएको वर्ष क्षयरोगबाट ३७ जनाको मृत्यु भएको थियो । यस्तै चालू आर्थिक वर्षको ६ महिनामा ४ सय ९४ जना क्षयरोगका बिरामी फेला परेका छन् । गएको वर्ष बाँकेमा ८ सय ३५ जना क्षयरोगका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै नेपालगन्जमा २३८, कोहलपुरमा १ सय ४५ र खजुरामा १०७ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
यस्तै राप्तीसोनारीमा ७८ जना, बैजनाथमा ९५ जना, जानकीमा ५७ जना, डुडुवामा ६२ जना र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगका बिरामी फेला परेको फोकल पर्सन नेपालीले बताउनुभयो ।
बाँकेमा प्रत्येक वर्ष १३ सय ८६ जना उपचारको दायरामा आउनुपर्नेमा उपचारको पहुँचमा ४९४ जना मात्रै रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, टिभी नेपाल लगायतका सङ्घसंस्थाले आज नेपालगन्जमा सरोकारवाला तथा सञ्चारकर्मीसँगको अन्तरक्रियामा स्वास्थ्य कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्