पाँच पोखरीको सीमा क्षेत्रमा आकर्षक प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरूले आफूले पाउने सेवा सुविधाबाट गाउँपालिका सीमा क्षेत्रमा आकर्षक प्रवेशद्वार बनाएका छन् ।
गाउँपालिकाको पर्यटन प्रवर्द्धनका निम्ति पालिकाभित्र रहेको विभिन्न कला संस्कृति र मौलिकतालाई झल्काउने गरी प्रवेशद्वार निर्माण गरिएको छ । गाउँपालिकाको ८ वटा वडाका वडा अध्यक्षहरूलाई छुट्याइएको सवारी साधन खरिद तथा अन्य सुविधा बापतको ४० लाख र पालिकाको थप १० लाख गरी ५० लाख लागतमा उक्त प्रवेशद्वार निर्माण भएको हो ।
सिन्धुपाल्चोकको पर्यटकको आकर्षण केन्द्रको रुपमा रहेको पाँच पोखरी थाङ्गपाल गाउँपालिकाले प्रवेशद्वार सँगै पुस्तकालय सहितको सूचना केन्द्र र प्रसिद्ध धार्मिक स्थल पाँच पोखरीको झल्को दिने गरी पाँच वटा पोखरी सहितको महादेवको मूर्ति पनि स्थापना गरेको छ ।
शनिबार एक कार्यक्रमकाबीच पूर्व मन्त्री शेरबहादुर तामाङले नवनिर्मित पालिका प्रवेशद्वार, सूचना केन्द्रको उद्घाटन तथा महादेवको मूर्ति अनावरण गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले प्रवेशद्वार निर्माणको लागि राज्यबाट पाउने सेवा सुविधा त्याग गर्नुभएकोमा सम्पुर्ण वडा अध्यक्षहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
पालिकाको प्रवेशद्वारसँगै सूचना केन्द्रको स्थापनाले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै प्रचारप्रसारमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमका सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष टासी लामाले विश्वको ९औ अग्लो स्थानमा रहेको ताल पाँच पोखरी लगायत गाउँपालिकाभित्र रहेको विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा जानकारी सहितको सूचना केन्द्रको स्थापनासँगै गाउँपालिकालाई पर्यटकीय हबको रुपमा विकास गर्ने उद्देश्य अनुरूप योजनाबद्ध ढङ्गले काम गरिरहेको जानकारी दिनुभयो ।
स्थानीयको जीवनस्तरमा परिवर्तन ल्याउनको लागि पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन नै प्रमुख भएको बताउनुहुँदै उहाँले उत्पादनमूलक आयआर्जनका क्षेत्रमा जोडिन पाँचपोखरीबासीलाई आग्रह गर्नुभयो ।
सोही अवसरमा गाउँपालिकाले तयार पारेको चार बर्षे प्रगति प्रतिवेदन पुस्तक विमोचन तथा पालिकाको सम्पुर्ण स्थानको सूचना सहितको नक्सा समेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा अध्यक्ष विष्णु बहादुर खड्का, तथा गाउँपालिकाका कर्मचारी कुमार बस्नेतले आफ्ना भनाइहरू राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्