तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा वृद्धि भएको छ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७४ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित समारोहमा उहाँले नेपाल र नेपाली जनताको हित प्रवर्द्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले उदार, नियममा आधारित, न्यायोचित, निष्पक्ष र सहकारी विश्वव्यापी व्यवस्थाको वकालत गर्न जारी राख्ने उल्लेख गर्दै यसले विकासशील देशहरू, विशेष गरी अति कम विकसित देशहरूलाई विकास गर्नका लागि सक्षम बनाउने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button