तपाईँ सुन्दै हुनुहुन्छः

इमानदार भएर जनताको काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले इमानदार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

कीर्तिपुर नगरपालिका–५ पाँगामा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै उहाँले राज्यबाट प्रदान गरिएको सुविधा प्राप्त गर्न नसकेका तथा दुःखमा परेका जनतालाई राहत प्रदान गर्ने कार्यमा अगुवाइ गर्न स्थानीय तहका पदाधिकारीलाई सुझाव दिनुभयो ।

जनताले बनाएको मन्दिरमा गजुर लगाउन मात्र होइन, जग खन्ने कार्यमै संलग्न हुन जनप्रतिनिधिलाई सुझाव दिँदै उहाँले जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा लाग्न आग्रह गर्नुभयो ।

त्यस क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद राजेन्द्र केसीले पिता पुर्खाबाट जग्गाको हक हस्तान्तरण भए पनि लालपुर्जा नहुँदा खेप्न परेका यावत समस्या पुर्जा प्राप्त भएसँगै समाप्त भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य पुकार महर्जनले पुर्जाका अभावमा घर बनाउँदा नक्सा पास, ऋण लिन धितो, हक हस्तान्तरण गर्न समस्या झेल्दै आएका स्थानीय वासीलाई लालपुर्जा प्राप्त भएसँगै ती कार्य गर्न सजिलो भएको धारणा व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सेवाग्राहीलाई सहज र सरल ढङ्गबाट सेवा उपलब्ध गराउन तथा गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यलाई मन्त्रालय र मातहतका निकायले प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो ।

कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जनले नगरपालिकाका विभिन्न वडाका करिब २०० घर परिवारले गाउँ ब्लक जग्गाधनी दर्ता प्रमाणपत्र नपाइरहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । वडाध्यक्ष राजेन्द्र महर्जनले रोकिएको जग्गाधनी र मोहीसम्बन्धी जग्गा बाँडफाँट र कित्ताकाट खुलाउन मन्त्रीसँग आग्रह गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button