तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीहरू नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कर्मचारीहरू सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौँ अधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै कर्मचारी जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यवहारिक समस्या समाधान गर्न मन्त्रालय र आफू तयार रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरू प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरू पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छवि हटाउने गरी काम गर्न सम्बद्ध सबै पक्ष एक भएर लाग्न आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले कर्मचारीहरूले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नुपर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुरस्कारको समेत व्यवस्था हुनुपर्ने कुरामा आफूले सधैँ जोड दिँदै आएको भन्दै अब चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्था गर्न ढिलाइ गर्न नहुने पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने र जमिन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यस तर्फ लाग्न कर्मचारीहरूलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button