आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिका–४ स्थित मुख्य चोकमा आज बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।
भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो ।
सङ्घको आज बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति एवं भूपाल हार्डवेयरका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशकुमार श्रेष्ठलगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।
भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकार लगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । आगलागीको मौसमलाई ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रासस







प्रतिक्रिया राख्नुहोस्