तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई श्रम मन्त्री श्रेष्ठद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ दमौली बजारमा लागेको आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । 

मन्त्री श्रेष्ठको पहलमा काठमाडौँबाट लगिएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा झन्डै चार घण्टापछि आगलागी नियन्त्रण भएको थियो । 

आगलागी अनियन्त्रित भएको र स्थानीय स्तरबाट निभाउन नसकिएको खबर आएपछि मन्त्री श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँडसहित सम्वद्ध अधिकारीहरूसँग समन्वय गर्नुका साथै सिम्रिक एयरलाइन्सका अध्यक्ष क्या.रामेश्वर थापासँग समेत सहयोगका लागि आग्रह गरेपछि सिम्रिक एयरको हेलिकप्टर लिएर विपद् जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रणको प्रशिक्षण लिएका प्राविधिक टोलीसहित मन्त्री श्रेष्ठ स्वयम् घटनास्थलमा पुग्नुभएको थियो । 

मन्त्री श्रेष्ठले आगलागी नियन्त्रण गर्न मद्दत गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सिम्रिक एयरलाइन्स र स्थानीयवासीसहित सबैलाई धन्यवाद दिँदै यस्ता विपद्को स्थितिमा अझै सतर्क भई प्रतिकार्यको लागि तयार हुन आग्रह गर्नुभएको छ । 

आगलागीका कारण भएको क्षतिको विवरण सङ्कलन गरी राहत दिन पहल गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । 

साथै आगलागी भइहाले पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्ने भरपर्दो उपायको व्यवस्था स्थानीय स्तरमा गर्नेतर्फ सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button