बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न गृहमन्त्री खाँणको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालकुमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनः स्थापना, क्षमा पूजा र अनुसन्धानमा संलग्न पदाधिकारीलाई सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले सार्वजनिक सम्पत्तिको सुरक्षामा गतिशील भएर लाग्न ललितपुरको प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

‘सार्वजनिक सम्पत्तिको खोजीनिती गर्न ललितपुर प्रहरी अझै गतिशील भएर लागोस् । मूर्ति चोरी गर्ने चोरहरू कारबाहीमा परुन्, म गृह मन्त्रालयको तर्फबाट उहाँहरूलाई निर्देशन दिन चाहन्छु,’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘मन्दिरको सुरक्षाका लागि मन्दिर व्यवस्थापन समितिका साथीहरूसँग बसेर ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले कार्ययोजना बनाउनुहोस् ।’
उहाँले मूर्ति चोरी हुने वातावरण नबनोस्, भन्ने सतर्कताका लागि र आवश्यक व्यवस्थापनका लागि पनि प्रशासन र सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
माघ ९ गते हराएको बालकुमारी माताको मूर्ति १९ दिनपछि माघ २८ गते भेटिएको थियो ।
गृहमन्त्री खाँणले नेपाल विविधताले भरिपूर्ण मुलुक भएको भन्दै विविधताबिच एकताका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । ‘हामी आफूले अवलम्बन गर्ने धर्मप्रति पनि सम्मान प्रकट गर्दछौँ । अरूले अवलम्बन गरेको धर्मप्रति पनि हाम्रो सम्मान रहेको छ । धार्मिक सद्भावलाई बचाउन र खलबलिन नदिन हामी सबै जिम्मेवार हुनुपर्छ,’ गृहमन्त्री खाँणले भन्नुभयो ।
गृहमन्त्री खाँणले नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको भन्दै नागरिकको अकालमा मृत्यु नहोस्, प्राकृतिक विपत्तिबाट मृत्यु नहोस् भन्नेमा सरकार सधैँ सतर्क र संवेदनशील रहेको बताउनुभयो ।
कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, ललितपुर महानगरपालिकाका पदाधिकारीसहित ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका पदाधिकारीको उपस्थिति थियो ।






प्रतिक्रिया राख्नुहोस्