‘मानवअधिकारको प्रयोग गर्दा अरूको अधिकारको ख्याल गर्न आवश्यक’
जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्ने परिपाटीको विकास भएपछि मानव अधिकारको रक्षा स्वतः हुने बताउनुभएको छ ।
मुख्यमन्त्री राउतले मानवअधिकार आयोगद्वारा आजदेखि जनकपुरधाममा सुरु भएको मानवअधिकार रक्षकहरूको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मानवअधिकार मानव जीवनको हरेक पाइलामा आवश्यक भएको बताउनुभयो ।

उहाँले मानव अधिकारको सवालमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रदेश सरकारको आफ्नै प्रहरी तथा प्रशासन नभएका कारणले मानवअधिकारका कतिपय विषयमा प्रदेश सरकार काम गर्न चुकिरहेको महसुस गरेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारले कानुनहरूको निर्माण गरे पनि संरचनाको अभावका कारणले ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न नसकेको बताउँदै मानव अधिकारको सवालमा सरकारले चाहे अनुसारको कामकाज गर्न नसकेको बताउनुभयो ।
नेकपा एमालेका प्रदेश सभाका सदस्य शारदादेवी थापाले मानवअधिकारको कुरा आमाको गर्भदेखि नै सुरु हुने गरेको बताउँदै मधेस प्रदेशमा महिला तथा बालबालिकाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर भएको बताउनुभयो ।
प्रदेश सभाका सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले मानवअधिकारको विषय व्यापक भएको बताउँदै मानव अधिकारको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारप्रति ख्याल गर्न आवश्यक भएको बताउँदै न्यायपालिकाले मानवअधिकारको रक्षाका लागि दृढतापूर्वक कामकाज गरिरहेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सिंह, महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष श्यामा कुमारी साह, सेभ द चिल्ड्रेनका मधेस प्रदेशका प्रमुख नरमाया थापा, यूसएएडका धन बहादुर चन्द, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेश छाडा मगर, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकार सहितका वक्ताहरूले मानव अधिकारको क्षेत्रमा धेरै कामकाज गर्न बाँकी रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्