प्रजातान्त्रिक आन्दोलनका शीर्षस्थ नेता भट्टराईको १२औँ स्मृति दिवस आज

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शीर्षस्थ नेता कृष्णप्रसाद भट्टराईको आज १२औँ स्मृति दिवस ।
उहाँको २०६७ साल फागुन २० गते ललितपुरको बाँडेगाउँस्थित आफ्नै आश्रममा निधन भएको हो।
विसं १९८१ मा जन्मिनुभएका सन्त नेता भट्टराईले राणा शाही र पञ्चायत विरुद्ध अनवरत सङ्घर्षका क्रममा लामो समय जेल जीवन बिताउनुभएको थियो ।
पूर्व प्रधानमन्त्री भट्टराई अहिंसा, शान्ति र देशभक्तिका कट्टर हिमायती हुनुहुन्थ्यो। उहाँलाई नेपाली राजनीतिमा त्याग, सदाचार र निष्ठाका लागि विख्यात सन्त नेताका रूपमा पनि लिने गरिएको छ ।
नेपाली काँग्रेसका संस्थापक सङ्गठन महामन्त्री भट्टराई २७ वर्षको उमेरमा सल्लाहकार परिषद्का सभाध्यक्ष र विक्रम संवत् २०१५ मा ३४ वर्षको उमेरमा जनताद्वारा चुनिएको नेपालको पहिलो संसद्को पहिलो सभामुख चुनिनुभएका उहाँ नेपाल पत्रकार महासङ्घको संस्थापक सभापति समेत हुनुहुन्छ ।
विसं २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आउनुभएका नेता भट्टराई २०४६ को ऐतिहासिक जनआन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएको थियो भने २०५६ मा उहाँ निर्वाचित सरकारको प्रधानमन्त्री बन्नुभएको थियो।
उहाँ नेपाली राजनीतिमा दूर दृष्टि राख्ने र आफ्नो विश्वासमा रणनीतिक सौदावाजीलाई स्थान नदिने सिद्धान्तका पालकका रुपमा रहनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्