भूमि सम्बन्धी समस्या समाधानका लागि बेलडाँडीमा लगत प्रविष्टिलाई निरन्तरता

कञ्चनपुर । भूमि सम्बन्धी समस्या समाधानका लागि कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले समेत कार्यलाई तीव्रता दिएको छ ।
राष्ट्रिय भूमि आयोगसँग दोस्रो चरणमा माघ २० गतेका दिन कार्यगत सम्झौता गरेको बेलडाँडी गाउँपालिकाले बुधवारबाट लगत प्रविष्टिको कार्यलाई निरन्तरता दिएको बताइएको छ ।
अहिले दैनिक औसतमा एक सय जति लगत प्रविष्टि गर्ने कार्य भइरहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र बेलडाँडीका प्रमुख हेमराज रेग्मी जोशीले जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले झलारी–बेलौरी लाइन मर्मतका लागि दुई महिना बिहान १० बजेदेखि साँझसम्म नै विद्युत् लाइन काट्ने गरेकोले नियमित विद्युत् आपूर्ति नहुनु र इन्टरनेटको क्षमता समेत कम हुने समस्याले लगत प्रविष्टिको कार्यमा केही ढिलासुस्ती भइरहेको सेवा केन्द्र प्रमुख जोशीले बताउनुभयो ।
लगत प्रविष्टिको कार्यलाई थप तीव्रता दिन आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्थापन भइरहेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले जानकारी दिनुभयो ।
बेलडाँडी गाउँपालिकामा लगत प्रविष्टिका लागि पुराना ५ जना र गाउँपालिका कार्यालयबाट ३ जना अपरेटर खटाइएको छ भने थप ४ जना अपरेटरका लागि गाउँपालिकाले दरखास्त आह्वान गरेको छ ।
यसअघि बेलडाँडीमा गत आर्थिक वर्षमा लगत सङ्कलन गरी १ हजार ३ सय ५२ लगत प्रविष्टि गरिसकिएको थियो ।
उक्त समयमा जग्गा नाप जाँचका लागि केन्द्र बिन्दु निर्धारण समेत गरिसकेको परिस्थितिमा सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग नै खारेज गरेपछि बाँकी काम समेत रोकिएको थियो ।
नेपाल सरकारले राष्ट्रिय भूमि आयोग गठन गरी पालिकासँग कार्यगत सम्झौता समेत गरिसकेकोले बेलडाँडी गाउँपालिकाले आवश्यक स्रोत साधनको व्यवस्थापन गर्दै कार्यलाई निरन्तरता दिएको छ ।
लगत सङ्कलन गर्न छुट भएका लाभग्राहीहरूको समेत लगत लिई निस्सा वितरण गरिने र विवरण अध्ययन गरी जग्गा नाप जाँच गरिसकेपछि मात्रै जग्गा धनी पुर्जा वितरण गरिने राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्