तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो : मन्त्री कार्की

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट, (एमसिसी) बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल भर्खरै सकिएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले)का अन्य शीर्ष नेताहरू समेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउने बारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसिसी सदनमा गहन रूपले छलफल भएर निष्कर्षमा पुग्छ ।”

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उहाँले समय सीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसी लगायतका विषयमा खुल्ला छलफल गर्न आफूहरू तयार रहेको छलफलमा सहभागी काँग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले एमसिसी अन्तर्राष्ट्रियस्तरसम्म पनि जोडिएको छ । यसलाई टुङ्गोमा पुर्‍याउनुपर्छ, खुल्ला विकल्पमा छलफल गर्न तयार छौँ भन्नुभयो, अङ्क गणितसँग सरोकारको विषय होइन, संसद्मा भाग लिएर मत जाहेर गर्नुस् भन्नुभयो ।”

दलीय सहमतिका लागि आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच छलफल हुने नेता थापाले जानकारी दिनुभयो । 

आज दिउँसो १ः०० बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button