काँग्रेस कैलालीमा चुनावी चहलपहल बढ्यो
धनगढी । नेपाली काँग्रेस कैलालीमा चुनावी चहलपहल बढेको छ । काँग्रेस कैलालीको अधिवेशन फागुन १३ गते तोकिएको छ । १३ वटा पालिका र ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा १३ गते हुने काँग्रेस अधिवेशनलाई सबैतिरबाट चासोका साथ हेरिएको छ ।
अधिवेशनमा २ हजार ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने र ती प्रतिनिधिहरूले नै जिल्ला कार्य समिति चयन गर्ने काँग्रेस कैलालीले जनाएको छ ।पटक पटक स्थगित हुँदै आएको जिल्ला अधिवेशनको मिति तोकिएसँगै कैलाली काँग्रेस भित्र चुनावी सरगर्मी समेत बढिरहेको छ । जिल्ला सभापतिका आकाङ्क्षी देखि पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका नेताहरूको दौडधुप बढेको छ भने कार्यकर्ता सँगको भेटघाट बाक्लिएको छ ।
यतिवेला काँग्रेस नेताहरू प्रकाश बम, नारायणदत्त भट्ट, दीपकराज जोशी, खेमराज चौधरी, भीम बडुवाल, नवराज रावल, रामचरण चौधरी जिल्ला सभापतिको दौडमा रहेका छन् ।
यसैबिच नेपाली काँग्रेस कैलालीको सभापति पदमा जिल्ला उपसभापति प्रकाश बमले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गरी उपसभापति बमले आफू सभापतिको स्वाभाविक उम्मेदवार रहेको बताउनुभयो ।
काँग्रेस कैलालीलाई एकताबद्ध र थप सुदृढ पार्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थिति बलियो बनाउने सङ्कल्प लिएर सभापतिमा अघि बढेको उहाँले बताउनुभयो ।
सर्वसम्मत नेतृत्व चयनका लागि खुला रहेको बताउँदै बमले पार्टीको केन्द्रीय तहबाट अहिले सम्म कोही कसलाई आधिकारिक रुपमा जिल्ला सभापतिको उम्मेदवार नतोकिएको दाबी गर्नुभयो ।
आफ्ना बारेमा विभिन्न भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै बमले सरकारी नियुक्तिका लागि कहीँ कतैबाट दबाब नआएको र आफूले नियुक्ति भन्दा पनि सभापति पदलाई प्राथमिकता दिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्