सिट्रस ग्रिनिङ्ग रोगले सल्यानका सुन्तला बगैँचा खाली हुँदै

सल्यान । सल्यानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् । उपचार नै भएको सिट्रस ग्रिनिङ्ग रोगले सुन्तलाका बगैँचा खाली हुन थालेपछि किसान चिन्तित हुन थालेका हुन ।
आम्दानीको राम्रो स्रोतको रुपमा रहेका सुन्तलाका बोट नै धमाधम सुक्न थालेपछि किसानको व्यवसाय नै सङ्कटमा पर्न थालेको छ । सिट्रस ग्रिनिङ्ग रोग र रासायनिक मल तथा विषादीको प्रयोग गर्न नजान्दा सुन्तलाका बोट नै सुक्न थालेको बागचौर नगरपालिका–८ का किसान भरतनाथ योगीले बताउनुभयो ।
एक हजार भन्दा बढी सुन्तलाका बोट लगाएका योगीले रोगका कारण एक सय बढी बोट मरी सकेको बताउनुभयो । उहाँले भन्नुभयो, यो रोग छिटो फैलिने हुँदा उत्पादन लिन निकै समस्या हुन थालेको छ । विगतका वर्षहरूमा २७ लाखसम्म आम्दानी लिने गरेको भएपनि दुई वर्षयता ९/१० लाख आम्दानी गर्न पनि गाह्रो भइरहेको छ ।
हाँगाबाट सक्दै जाने, जरा कुहिने, फल पनि राम्रो नहुने भएका कारण सुन्तला उत्पादन घट्न थालेको अर्का किसान प्रकाश डाँगीले बताउनुभयो । जति उपचार गर्दा पनि रोग नियन्त्रणमा आउन नसकेको उनको भनाई छ ।

सिट्रस ग्रिनिङ्ग र सिट्रससिल्ला रोगका कारण बगैँचा खाली हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले बताउनुभयो । बगैँचामा रोगले आक्रमण गर्दा वर्षेनी सुन्तलाको उत्पादनमा समेत गिरावट आइरहेको उहाँले बताउनुभयो । यो समस्या सल्यानको मात्र नभएर देशभर सुन्तलामा यस प्रकारको समस्या देखिएको कार्यालयले जनाएको छ ।
जिल्लामा ९ सय किसानले १ हजार ५ सय हेक्टर बढीमा व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन् । रोगकै कारण गर्त वर्षको तुलनामा यो वर्ष झन्डै ३३ प्रतिशतले उत्पादन घटेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत वर्ष ७ हजार ४ सय ८३ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष भने ६ हजार ८ सय ८५ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको प्रमुख बस्नेतले बताउनुभयो । जिल्लाका बागचौर, शारदा नगरपालिका, छत्रेश्वरी, सिद्ध कुमाख, कपुरकोट गाउँपालिका लगायतका स्थान सुन्तलाका पकेट क्षेत्र हुन ।







प्रतिक्रिया राख्नुहोस्