तपाईँ सुन्दै हुनुहुन्छः

माघमै योजना सम्झौता सक्ने तातोपानी-१ का वडाध्यक्ष कठायत सम्मानित

जुम्ला । तातोपानी गाउँपालिका–१ का वडाध्यक्ष प्रेम बहादुर कठायत सम्मानित हुनु भएको छ । माघभित्रै योजना सम्झौता सकाउने पालिकाको लक्ष्यअनुसार वडाका सबै योजना सम्झौता गरेपछि सम्मानित हुनु भएको हो । पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू सम्पूर्ण कर्मचारीहरूको सहभागितामा दोसल्ला र अबिर सहित सम्मान गरिएको हो । 

तातोपानी गाउँपालिकामा मिलन बुड्थापा प्रमुख प्रशासकीयका रुपमा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरू सँग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएको थियो । सोही अनुसार वडा वडामा प्राविधिक जनशक्ति खटाउने देखि  जनप्रतिनिधि र कर्मचारीहरू योजना सम्झौतामा लागि पर्नु भएको थियो । 

जसअन्तर्गत  तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सम्झौता सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो,“माघ मसान्त भित्र सबै योजनाहरू सम्झौता गरी सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउँदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरूलाई सिकाई होस भनेर वडाध्यक्षलाई ऊर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।” 

विकासमा गुणस्तर ल्याउन, पुँजीगत खर्च बढाउन, समयमै भुक्तानी सक्न, असारे विकासको अन्त्य गर्न र अनुगमन निरीक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकीय अधिकृत बुड्थापाले बताउनुभयो । 

विकास निर्माणलाई गति दिन कर्मचारी, जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आवश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भन्नुभयो,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ । अन्य वडाको पनि सम्झौता भइरहेका छन् । तर वडा नं. १ का वडाध्यक्ष प्रेम कठायतले सक्रियता देखाउनु भयो । उहाँलाई प्रोत्साहन गर्न सम्मान गरेका हौ । अन्य वडाध्यक्षलाई पनि सिकाई हुने छ । भने राम्रो काम गर्ने जनप्रतिनिधि कर्मचारीलाई ऊर्जा थप्न सम्मान प्रोत्साहनका कार्यक्रम गर्न आवश्यक छ ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button