जग्गा अतिक्रमण गरी सार्वजनिक स्थानमा बनाइएका घर टहरा व्यास नगरपालिकाले भत्काउन थाल्यो

तनहुँ । तनहुँको व्यास नगरपालिकाले नगरभित्रका सार्वजनिक स्थानमा जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । बुधवारदेखि सार्वजनिक स्थानमा नियम विपरीत निर्माण गरिएका संरचना भत्काऊ सुरु गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा भत्काउन धेरै पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको व्यास नगरपालिकाकाले जनाएको छ । बुधवार पहिलो चरणमा व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा विक्रम श्रेष्ठ, मनबहादुर रुचाल, भरत पोख्रेल, राजेन्द्र कला श्रेष्ठ र वृषराज श्रेष्ठले सार्वजनिक जग्गा मिची निर्माण गरेका घर टहरा भत्काइएको नगरपालिकाका नगर प्रहरी प्रमुख आशिक परियारले जानकारी दिनुभयो ।
नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घर टहरा हटाउन सूचना जारी गरेको थियो । त्यसपछि पनि ३ दिने सूचना जारी गरेको तर अटेर गरेपछि बुधवार नगरपालिकाले नै उक्त अवैध घर टहरा भत्काउन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

उहाँका अनुसार बुधवारबाट सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा भत्काउने अभियान सुरु भएको छ । उहाँले अगाडी भन्नुभयो ’अब यो अभियान निरन्तर जारी रहन्छ । नगरपालिकाका अन्य वडाका सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा भत्काइने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ’धेरै पटक अनुरोध गर्यौ तर अटेर गरियो अब एक्सनमा जानै पर्ने देखियो ।’
नगरपालिका भित्रका विभिन्न स्थानमा ठुलादेखि सामान्य व्यक्तिहरूले समेत सार्वजनिक जग्गा हडपेर संरचना बनाएका छन् । अब व्यास नगरपालिकाले उक्त जग्गा संरक्षण गर्ने अभियानमा लागेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्