तोरी उत्पादन राम्रो भएसँगै चितवनमा मह उत्पादनमा सुधार

चितवन । महमा आत्मनिर्भर जिल्ला मानिएको चितवनमा यो वर्ष मह उत्पादनमा उल्लेखनीय सुधार आएको छ । मौसम अनुकूलता सँगै यो वर्ष तोरी उत्पादन राम्रो भएकोले मह उत्पादनमा पनि सुधार आएको हो । विगत तीन वर्षदेखि मौरी उत्पादनमा ह्रास आएपनि यस वर्ष मह उत्पादनमा केही वृद्धि भएको नेपाल मौरीपालन महासङ्घले जानकारी दिएको छ । महासङ्घका अनुसार चितवनमा वार्षिक साँढे पाँच सय टन हाराहारीमा मह उत्पादन हुँदै आएको छ ।
चितवनमा उत्पादन भएको एक तिहाइ महमात्र यहाँ खपत हुने र अन्य मह जिल्ला बाहिर जाने गरेको छ । महासङ्घका केन्द्रिय अध्यक्ष शिवप्रसाद शर्माले यस बर्ष मह उत्पादनमा केही वृद्धि भएको बताउनुभयो । ‘चार वर्ष अघिसम्म चितवनमा कुल उत्पादनको ७० प्रतिशत मह उत्पादन भएको थियो । २०७५ सालमा वार्षिक ८०० टन मह उत्पादन भएको थियो, उहाँले भन्नुभयो, त्यसयता मौरीको चरन अभाव , विषादी र गुणस्तरीय रानो मौरी नभएका कारण क्रमशः महको उत्पादन घट्दै गएको हो । तोरी राम्रो भएकोले अहिले फेरी उत्पादन बढेको छ । ’

देशको कुल उत्पादनको ५५ प्रतिशत मह उत्पादन हुँदै गएको छ । चितवन मह उत्पादनको हिसाबले आत्मनिर्भर रहेको नेपाल मौरी पालक महासङ्घका अध्यक्ष शर्माले बताउनुभयो । चितवनमा ५५० जना किसानले व्यावसायिक रुपमा मह उत्पादन गर्दै आएका छन् । औसत मह थोक प्रतिकिलो ५०० देखि ७०० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
चितवनमा ३५ हजार वटा मौरीका घार छन् । चिउरीसहित अन्य जङ्गली फूलबाट ७० प्रतिशत र तोरीसहित अन्य बालीबाट ३० प्रतिशत मह उत्पादन हुने गरेको उहाँको भनाई छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरी पालक विष्णु भुषालले अघिल्ला बर्ष मह उत्पादनमा ह्रास आएपनि यो बर्ष तोरीमा फूल प्रशस्त खेलेकाले मह उत्पादन बढेको बताउनुभयो । ‘पहिले यो सिजनमा पनि अन्य जिल्लामा मौरी चराउन लग्नु पर्थ्यो उहाँले भन्नुभयो, अहिले केही प्रतिशत मात्र बाहिर लगेका छौँ ।’

यहाँका किसानहरूले दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, गोरखा, सर्लाही, बारा, पर्सा, महोत्तरीलगायतका जिल्लामा घार लिएर जाने गरेका छन् । तोरी, फापर, चिउरी, रुदिलो, सिसौ, मसला, जङ्गली तथा अन्य जैविक फूलहरू मह उत्पादनका स्रोत हुन् ।
चिउरीको फूल लगभग १० प्रतिशत मात्र फुलेकाले मह उत्पादनमा समस्या भएको छ । देशभर उत्पादन हुने महमा चिउरीसहित अन्य जङ्गली फूलबाट ७० प्रतिशत र तोरीसहित अन्य बालीबाट ३० प्रतिशत रहेको छ । चिउरीसहित अन्य जङ्गली फूलबाट हुने उत्पादनमध्ये ९० प्रतिशत मह उत्पादन चिउरीबाट मात्रै हुने गर्दछ ।

यसवर्ष तोरीको फूल राम्रोसँग फुलेकाले तोरीबाट हुने मह उत्पादनमा भने कमी नभएको उहाँले बताउनुभयो । चितवनका अधिकांश किसानले पनि तोरीको फूल फुल्ने समयमा विषादीको प्रयोग गरेका छैनन् । यसले गर्दा पनि तोरीको मह उत्पादनमा समस्या नभएको उहाँले बताउनुभयो । चितवन दूध र पोल्ट्री, माछामा पनि आत्मनिर्भर जिल्ला हो ।








प्रतिक्रिया राख्नुहोस्