नेपाली सेनाद्वारा अवरुद्ध सडक सुचारु

काठमाडौँ । बढ्दो चिसो तथा प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानहरूमा अत्यधिक हिमपात भई जनजीवन प्रभावित तथा यातायात सेवा समेत बन्द भइरहेको अवस्थामा नेपाली सेनाद्वारा विभिन्न स्थानहरूमा परिचालित भई सडक खण्डमा जमेको बाक्लो हिमपात हटाई यातायात सुचारु गरेको सेनाले जनाएको छ ।
नेपाली सेनाद्वारा अन्य सुरक्षा निकायहरूको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे–पाटन–सतबाँझ–धरमघर) सम्म सडकमा जमेको हिमपात हटाई यातायात सुचारु गराएको छ ।

त्यस्तै सेनाद्वारा अन्य सुरक्षा निकायहरूको सहयोगमा अछाम जिल्ला, मङ्गलसेन नगरपालिका, वडा नं. ६ स्थित ठूलासैनदेखि कमलबजार नगरपालिका, वडा नं. ५ स्थित गैरिटाँडसम्म जमेको हिउँ पन्छ्याई मध्य पहाडी लोकमार्गमा यातायात सुचारु गराउन सफल भएको छ ।
सेनाद्वारा नेपाल प्रहरीलगायत स्थानीयवासीको सहयोगमा भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत डडेलधुरा जिल्ला, गन्यापधुरा गाउँपालिका, वडा नं. १ स्थित भात्कांडा इलाकादेखि साहुखर्क तथा साहुखर्कदेखि गैरा हुँदै हगुल्टे सडक खण्डमा जमेको हिउँ पन्छ्याई राजमार्ग सुचारु गराएको सेनाले जनाएको छ ।

उक्त सडक खण्डमा फसेका यात्रुहरूलाई नेपाली सेनाद्वारा खाद्यान्न (बिस्कुट, अण्डा, पानी, चिया) तथा औषधि समेत उपलब्ध गराइएको सेनाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्