रेडक्रसले फेरि शुरु गर्यो मास्क बैङ्क
झापा । नेपाल रेडक्रस सोसाइटी झापा, भद्रपुर उपशाखाले फेरि ‘मास्क बैङ्क’ सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै उपशाखाले मास्क बैङ्कलाई आजदेखि सञ्चालनमा ल्याएको हो ।
बैङ्क सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लब समेतको सहकार्य रहेको रेडक्रस भद्रपुर उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो ।

उहाँका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैङ्क’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।
बैङ्कबाट बिहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैङ्कमा विगतमा रेडक्रसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेका थिए । सोहीबाट खरिद गरिएको मास्क बैङ्कमा रहेको उपशाखाका सभापति गिरीले जानकारी दिनुभयो ।
मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म सर्जिकल मास्क वितरण गरिँदै छ ।







प्रतिक्रिया राख्नुहोस्