तपाईँ सुन्दै हुनुहुन्छः

समाचार बन्न सक्दैनन् महिला

काठमाडौँ । सङ्घीय राजधानीबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाका अग्रपृष्ठमा दिनहुँ राजनीतिक समाचारले स्थान पाउँछन् । राजनीतिक समाचार पनि पुरुषकै वरिपरिका मात्रै हुने गर्छन् । ती समाचारहरूमा पुरुष पत्रकारका वाइलाइन र पुरुष नेताकै भनाई । उसो भए पत्रपत्रिकामा महिला पत्रकार र महिला नेता नभएर समाचार नबनाइएका हुन् त ? होइन, यहाँ पत्रकार महिला पनि छन् । महिला नेतृ पनि प्रशस्तै छन् । मात्रै प्राथमिकतामा नपरेका हुन् । 

राजनीतिमा पद मुख्य कुरा हो । प्रमुख पार्टीमा महिला नेतृत्व छ र दैनिक हुने राजनीतिक गतिविधिमा महिला नेतृहरूले सहभागिता जनाएर मिडियामा सूचना दिए भने महिला नेताका समाचार एक दिन नआउला दुई दिन नआउँला । प्रमुख इभेन्टहरूमा महिलाको सक्रियता बढेपछि अन्ततः महिला नेताका समाचार ती मिडियाले नलेखी धर पाउँदैनन्  मिडियाले सधैँ पन्छाइ रहनेछन् । 

हुन त नेपालमा मात्र हैन, संसारभरि नै मिडियामा महिलालाई विभेद गरिएको छ । अमेरिकाको वमन मिडिया सेन्टरले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार त्यहाँ पनि पत्रिकाको बाइलाइन र क्यामेरामा पुरुषले ६४ प्रतिशत ओगटेका छन् भने महिला ३६ प्रतिशत मात्र छन् । वालस्ट्टी जर्नल, न्युयोर्क टाइम्स र सिकागो टाइम्सजस्ता प्रतिष्ठित पत्रिकाहरूमा पनि पुरुषकै लेख/रचनाले बढी स्थान पाउँछन् । 

विश्वभर लोकप्रिय  न्युयोर्क टाइम्समा त झन् पुरुष र महिलाको विभेद सबैभन्दा बढी छ । युरोपमा पनि मिडियामा महिला असमानता छ । मिडियामा हुने लैङ्गिक विभेदमा विकसित देशले बहस गर्न थालेको लामो समय भइसकेको छ । मूलधारका मिडियाले महिलाका मुद्दालाई राम्ररी उठान नगरेकाले र महिला लेखिकालाई कम महत्त्व दिने गरेकाले वैकल्पिक मिडिया पनि जन्मेका छन् । 

नेपालमा भने भर्खरै यो विषयमा फाट्टफुट्ट बहस हुन थालेका छन् । प्रश्न पनि उठ्न सक्छ– किन आवश्यक छ, मिडियामा महिलाको प्रभावकारी उपस्थिति ? मिडियाले आम मानिसको धारणा बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । मिडिया सामाजिक परिवर्तनको प्रमुख संवाहक हो । अनि लैङ्गिक समानता कायम गर्ने सबैभन्दा ठूलो शक्ति पनि । महिला समानता र स्वतन्त्रता तबसम्म सम्भव हुँदैन, जबसम्म मिडियामा महिलाको बाक्लो र प्रभावकारी उपस्थिति हुँदैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button