सुदूरपश्चिम प्रदेशमा चार दलका ६ जना उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय रहेको क्षेत्रीय निर्वाचन कार्यालयमा पुगेर नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसअघि दलहरू नारा जुलुस सहित उम्मेदवारी दर्ताका गराउनका लागी निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागी सत्ता गठबन्धनका तीन र प्रमुख प्रतिपक्षी दल एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नारायणदत्त मिश्र (खुल्ला), नेकपा (एकीकृत समाजवादी) का मदनकुमारी शाह (महिला) र नेकपा माओवादी केन्द्रका जगत पार्की (दलित तर्फ) ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी नेकपा एमालेबाट डिल्लीराज भट्ट (खुला), नरेशबहादुर बिक (दलित) र सन्तोष कुमारी शर्मा (महिला तर्फ) उम्मेदवारी दर्ता गराउनु भएको छ ।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित काँग्रेस, एस र माओवादी केन्द्रका गरी तीन जनाको चार वर्षे कार्यकाल पुरा भएपछि सुदूरपश्चिम प्रदेशमा महिला, खुल्ला र दलित तर्फ गरी तीन सदस्यका लागि माघ १२ गते निर्वाचन हुदैछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उप(प्रमुख र प्रदेश सभा सदस्यहरूले मतदान गर्नु हुनेछ । सुदूरपश्चिम प्रदेशमा २ सय २७ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्