तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भुवा पर्व शुरु, आज जिल्लामा सार्वजनिक बिदा

बाजुरा । बाजुरामा दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाइने भुवा पर्व सुरु भएको छ । ऐतिहासिक किम्बदन्ती बोकेको सांस्कृतिक पर्वका रुपमा मनाइने भुवा पर्व यो बर्ष पनि सुरु भएको हो । 

महाभारतको कथामा पाण्डव र कौरव बिचको  युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् ।पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइने गरिन्छ । भुवा पर्व पुसेऔंसीका दिनबाट सुरु हुन्छ । 

जिल्लावासीले दशैं तिहार पछि भुवा पर्वलाई  विशेष महत्त्वको पर्वका रुपमा मनाउने गरेका छन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । जिल्लाका बुढिगंगा नगरपालिका,बडिमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका गाउँहरूमा स्थानीयले यो पर्व विशेष रुपमा मनाउने गर्दछन्। 

भुवा पर्वमा हरिनु हाल्ने र त्यसको गाथा गाउने तथा ढाल र तरबार सहित भुवा चाली खेल्ने,लाखे नाच नाच्ने र बेलुका देउडा खेलेर रमाइलो गर्ने प्रचलन छ। सदरमुकाम मार्तडीमा बिहानै सबै टोल(टोल बाट राँकाहरू बालेर भुवा  खेल्ने ठाउँ खेलमैदान लगायत जिल्ला भरि मा राँके नाच र भस्व खेलिएको छ। पर्व तीनदेखि पाँच दिनसम्म निरन्तर मनाइने गरिन्छ ।

सत्यको जित सँग यो पर्वलाई जोडिएकोले सत्यका पक्षपातीहरूले भुवा पर्व मनाउने गरेको  भुवा पर्वका  जानकार चन्द्र थापाले बताउनुभएको छ।  भुवा पर्वको सन्दर्भमा आज बाजुरामा सार्वजनिक बिदा दिइएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button