‘अर्थतन्त्रका सूचकमा संकट आएको भनी भ्रम छर्न खोजियो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा पर्न थालेको भनी नियोजित हल्ला भइरहेको बताउनुभएको छ ।
सोमवार अर्थ मन्त्रालयमा आयोजित पुँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रियामा अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रका सूचकहरूमा संकट आएको भनी भ्रम छर्न खोजिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले पुँजीगत खर्चको स्थिति कमजोर छ, तर अन्य सूचकहरू सङ्कटमा रहेको भन्ने कुरा नियोजित हल्ला हो भन्दै तरलता अभाव हटाउन पनि पुँजीगत खर्च आवश्यक भएकोमा जोड दिनुभयो ।
अर्थमन्त्री शर्माले वन क्षेत्रमा पर्ने पूर्वाधार निर्माणको लागि वन मन्त्रालयबाट सम्पादन गरिनुपर्ने कामहरू मौजुदा ऐन नियमको कारण चाँडो हुन नसक्ने र त्यसबाट पुँजीगत खर्च प्रभावित हुने गरेको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
पुस महिनाभित्र ३० प्रतिशत पुँजीगत खर्च गर्न नसक्ने मन्त्रालयको बजेट रकमान्तर गरी खर्च भइरहेको ठाउँमा पठाइदिने तयारी भइरहेको भन्दै ‘जसले खर्च गर्न सक्छ उसैलाई बजेट थपिन्छ, खर्च गर्न नसक्ने मन्त्रालयको बजेट कटौती हुन्छ’ अर्थमन्त्री शर्माले भन्नुभयो ।
अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रममा दिइने गरेको दैनिक ज्याला ५१७ ज्यादै कम भएकोले त्यसलाई बढाएर एक हजारको आसपास पुर्याउने गरी कार्यविधि बनाउन श्रम मन्त्रालयलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले करको दायरामा आएका होटेल तथा रेष्टुरेन्टहरुलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने सुझाव दिनुभयो ।
त्यसो गर्दा व्यवसाय फस्टाउने र राजश्व वृद्धिमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । त्यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको मन्त्री खाँणले बताउनुभयो ।
कृषि मन्त्री महेन्द्र राय यादवले सरकारले धानको समर्थन मूल्य तोकेर मात्र नहुने भन्दै कृषकबाट धान खरिद गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज लगायतले आफ्नो मन्त्रालयको खर्चको अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्