गण्डकी प्रदेश स्वास्थ्य नीति जारी

कास्की । गण्डकी प्रदेश सरकारले पहिलो पटक स्वास्थ्य नीति जारी गरेको । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश स्वास्थ्य नीति, २०७८ जारी गरेको हो । मुख्यतः हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पुर्याउने उद्देश्यका साथ नयाँ स्वास्थ्य नीतिमा एक चिकित्सक, स्वास्थ्यकर्मी एक संस्था नीति अवलम्बन गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारीले बताउनुभयो ।
मन्त्री अधिकारीका अनुसार यो स्वास्थ्य नीतिले विशेष गरी नेपालको राजनीतिक परिवर्तनका लागि भएका जनयुद्ध, जनआन्दोलन, मधेस तथा थारुहट आन्दोलनका क्रममा भएका शहिद तथा बेपत्ता, घाइते अपाङ्गता भएका व्यक्ति तथा परिवारको स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था मिलाउने कुरा नीतिमै उल्लेख गरिएको छ ।
त्यसैगरि आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरिसकेको सन्दर्भमा प्रदेशका जनताको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई सुनिश्चित गर्दे कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको हुने व्यवस्था नीति मार्फत गरिएको छ ।
सङ्घीयताको मर्म बमोजिम सङ्घ र स्थानीय तह सँग सहकार्य गर्दे समतामूलक गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आम नागरिकको सर्वव्यापी पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ पनि प्रदेश स्वास्थ्य नीतिले गरेको बताइएको छ । स्वास्थ्य बिमा लागु भएका अस्पतालहरूमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागु गरी स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरिने कुरालाई नीतिमा जोड दिइएको छ ।
प्रदेश भित्र पाइने विभिन्न जडीबुटीहरूलाई उत्पादन गर्न प्रोत्साहनको नीति लिइएको छ । आयआर्जनका लागि पनि जडीबुटी उत्पादन तथा प्रसारण लाई जोडेर लैजाने महत्त्वपूर्ण विषय नीतिमा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताउनु भयो ।
प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी तथा विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने कुरा नीतिमा उल्लेख गरेको छ । गण्डकी प्रदेश पर्यटकहरूको प्रमुख गन्तव्य स्थल भएको अन्तर्राष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा स्थापना गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने, किशोरीका लागि आइरन लगायतका आवश्यक तत्त्वको उपलब्धता लगायतका विषय पनि नीतिमै राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्