तपाईँ सुन्दै हुनुहुन्छः

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौँ।नेपाल राष्ट्र बैङ्कले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैङ्कले आज ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैङ्कले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको टे«जरी बिल सोमबार जारी गर्न लागेको हो । बैङ्कले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने टे«जरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने टे«जरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैङ्कले रु पाँच अर्ब ६० करोडको टे«जरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैङ्कले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैकले मङ्गलवार ट्रेजरी बिल जारी गर्नेछ ।

के हो टे«जरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको टे«जरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैङ्कले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । बैङ्कले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा रु ७० लाख मूल्यमा ९० दिने टे«जरी बिल निष्काशन गरिएको थियो । बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैङ्क कारोबारमा प्रयोग गर्न सकिन्छ । सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन् । नेपालमा केन्द्रीय बैङ्कले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका टे«जरी जारी गर्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button