जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

कास्की । जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गास्थित सन्तु ढकालको नाममा रहेको जग्गा पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङ निवासी ५६ वर्षीय मातृका बस्ताकोटीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
लेखनदास काम गर्दै आएका बस्ताकोटीले यही असोज १५ गते ढकालको टुटुङ्गास्थित जग्गा मनहरि तिमिल्सिनाले किन्न लागेकोमा छिटो र सुलभ तरिकाले जग्गा पास गरी लालपुर्जा समेत दिन्छु भनेर विश्वास दिलाएर २५ हजार लिए पनि जग्गा पास नगराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पीडितले दिएको निवेदनका आधारमा वडा प्रहरी कार्यालय वैदामले नगद २५ हजारसहित बस्ताकोटीलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्