अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहर

काठमाडौं । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन ।
अठार दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधवारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसी बजारलगायत सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ ।
नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन ।
लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकै पटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले साबिकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहेको छ । “धेरै दिनको सङ्कलित फोहर एकै पटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो, अहिले नियमित रुपमा फोहर उठिरहेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो । अठार दिनको अवधिमा करिब १५ हजार मेट्रिक टन फोहर जम्मा भएको बताइएको छ ।
गत मङ्गलवार कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडाँैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहर उठाउने निर्णय गरेको थियो ।
मङ्गलवारको बैठकले सिसडोलसम्म जानका लागि बाटो मर्मतको काम सडक विभागले तत्काल गर्ने र सिसडोलका स्थानीय व्यक्तिका समस्याका विषय पनि समाधान गरिने भएपछि आजदेखि फोहर व्यवस्थापन हुन थालेको हो । कामपाले गत साउन ३२ गतेदेखि नै सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई घर बाहिर फोहर ननिकाल्न आग्रह गरेको थियो । सो सूचना सार्वजनिक भएको १८ हप्तापछि फोहर व्यवस्थापनको काम भएको हो ।
सिसडोलमा विसं २०६२ मा दुई वर्षको मात्र फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिड साइट निर्माण गरिएको थियो तर पटक पटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहर व्यवस्थापन गरिँदै आइएको छ ।
हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहर निस्किने गर्दछ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएको छ ।
हाल फोहर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमिटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापन स्थल निर्माण गरिएको छ । निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । सोह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।
काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्