तनहुँमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन सुरु

तनहुँ । तनहुँको भानु नगरपालिका ३ का ३६ वर्षीय सुर बहादुर गुरुङले मङ्गलवार पहिलो पटक जिल्ला प्रशासन कार्यालयमा गएर फोटो सहितको मतदाता नामावली दर्ता गराउनुभयो । रोजगारीका लागी विदेश जानु परेकाले मङ्गलवार पहिलो पटक मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको गुरुङले बताउनुभयो । नाम दर्ता गराएपछि गुरुङ प्रसन्न मुद्रामा दर्ता स्थलबाट बाहिरिनुभयो ।
पहिलो पटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उहाँले अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउनु हुनेछ ।तनहुँमा जिल्ला प्रशासन कार्यालयबाटै फोटो सहितको मतदाता नामावली सङ्कलन तथा दर्ता सुरु भएको छ । भाद्र १ गते मङ्गलवार देखी जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा जिल्ला प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
गुरुङ जस्तै मङ्गलवार शुक्ल गण्डकी नगरपालिका १२ का तुल बहादुर विक(४७) र पार्वती विक(४५)को दम्पती पनि जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिनुभयो । उहाँहरूले पनि पहिलो पटक फोटो सहितको मतदाता नामावली दर्ता गराउनुभयो । कहिले थाहा नहुने त कहिले दर्ता गराउने मिति कट्ने हुँदा विक दम्पतीले अहिलेसम्म नामावली दर्ता गराउन पाउनु भएको थिएन । मङ्गलवार भने अन्य कामले जिल्ला प्रशासन कार्यालय आउँदा उहाँहरूले आफ्नो नाम दर्ता गराउनुभएको छ ।
त्यस्तै मङ्गलवार नै पहिलो पटक नेपाली नागरिकता लिनुभएका १८ वर्षीय अनुप ढुङ्गानाले पनि जिल्ला प्रशासन कार्यालयबाटै फोटो सहितको मतदाता नामावली दर्ता गराउनु भएको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय तनहुँबाट नियमित रुपमा मतदाता नामावली सङ्कलन र दर्ता भइरहेकोमा सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै थप केन्द्र स्थापना गरी मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य सुरु गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रजिअ बरालका अनुसार नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन आउने नागरिकले अब सोही दिन फोटो सहितको मतदाता नामावली पनि दर्ता गर्न सक्नेछन् ।
फरक फरक ठाउँमा हुँदा सेवाग्राहीलाई असहज र कहिलेकाहीँ छुट्ने भएकाले पनि नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीको काम एकैसाथ एकै स्थानबाट सुरु गरिएको सहायक प्रजिअ बराल बताउनुहुन्छ ।
जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचन कार्यालयमा नियमित रुपमा मतदाता सम्बन्धी सबै काम भइरहेकोमा जिल्ला प्रशासनमा थप केन्द्र स्थापना गरी सेवा सुरु गरिएको हो । मतदाता नामावलीमा केही गल्ती, त्रुटि भए हाल अद्यावधिक गर्ने काम समेत भइरहेको कार्यालयले जनाएको छ ।
मङ्गलवार पहिलो दिन ३३ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय तनहुँका कम्प्युटर अप्रेटर तुलसी आलेले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलवार १३ जना महिला र २० जना पुरुषले मतदाता नामावली दर्ता गराएका छन् ।
मतदाता नामावली दर्ता गराउन आउँदा एक प्रति नागरिकता र नागरिकताको फोटोकपी लिएर आउनुपर्ने कम्प्युटर अप्रेटर आलेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्