तपाईँ सुन्दै हुनुहुन्छः

पथलैयाबाट अमलेखगञ्जमा खानेपानी पुर्‍याउने प्रदेश मन्त्री शर्माको प्रतिबद्धता

बारा । खानेपानीको चरम अभाव झेलिरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पुर्‍याउन प्रदेश २ सरकारले विशेष योजना बनाउने भएको छ । 

प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पथलैयास्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा रहेको ओभरहेड ट्याङ्कीको क्षमता बिस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्याङ्कीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्ने गरी योजना अघि बढाउन राय दिएको टोलीमा सहभागी नेपाली काँग्रेसका जीतपुरसिमरा नगर सभापति श्यामबाबु गुप्ताले जानकारी दिनुभयो । 

पाइप लाइनमार्फत डिजेल पुर्‍याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रक्रियाबाट पुर्‍याउन सकिनेबारे सम्भाव्यता अध्ययन गरी तत्काल काम अघि बढाउने प्रतिबद्धता समेत मन्त्री शर्माले व्यक्त गरेको सभापति गुप्ताले जानकारी दिनुभयो । 

अमलेखगञ्जमा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी सङ्कलन गरी त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई पानी वितरण हुँदै आएको  छ । तर बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण सो पानी पर्याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ । 

वडा नम्बर एकका अध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानीको अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको टोलीसँग मन्त्री शर्माले आफ्नै कार्यकालमा अमलेखगञ्ज बासीलाई खानेपानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button