वालिङ नगरपालिकाको बजेट ७८ करोड बढी, स्वास्थ्यलाई प्राथमिकता

वालिङ । वालिङ नगरपालिकाले आगामी वर्षका लागि ७८ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
बुधवार सम्पन्न दशौं नगर सभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ७८ करोड १४ लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले दशौं नगर सभामा प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ रु. ६ करोड ५५ लाख ३० हजार, सङ्घीय सरकार राजस्व बाँडफाँडबाट रु. १० करोड २९ लाख ८८ हजार, वित्तीय समानीकरण अनुदानबाट रु. १६ करोड ३९ लाख, सशर्त अनुदानतर्फ रु. ३९ करोड ६२ लाख, सङ्घीय सरकारको विशेष अनुदान रु. १ करोड ६६ लाख, सडक बोर्ड नेपालबाट रु. ४७ लाख गरी कूल रु. ७४ करोड ९९ लाख १८ हजार अनुमानित बजेट प्रस्तुत भएको हो ।
त्यस्तै गण्डकी प्रदेश सरकारतर्फको राजश्व बाँडफाँडबाट रु. १ करोड १६ लाख ९० हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट रु. १ करोड ९८ लाख ६८ हजार गरी कूल रु. ३ करोड १५ लाख, ५५ हजार ८ सय उपप्रमुख तिवारीले नगर सभामा प्रस्तुत गर्नु भएकोमा अनुमानित बजेट पारित भएको हो ।
जसमध्ये शिक्षा, स्वास्थ्य, कृषि, पशुसमेतको चालुतर्फ रु. ३९ करोड ८६ लाख ९९ हजार २ सय र पुँजीगततर्फ रु. ३८ करोड २७ लाख ७६ हजार ८ सय खर्च हुने अनुमानित बजेट उपप्रमुख तिवारीले सभामार्फत सार्वजनिक गर्नुभएको हो । यसअघि नगरप्रमुख दिलीप प्रताप खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दफावार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
नगरप्रमुख खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारी सँगसँगै अन्य क्षेत्रको विकास गरी नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागी नगरको बजेट केन्द्रित रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्