तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका क्रसर उद्योगलाई रोक लगाउने तयारी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका भित्र सञ्चालित क्रसरहरूलाई नदीजन्य पदार्थ उत्खननमा रोक लगाइने भएको छ । क्रसर उद्योगहरूले आवश्यक भन्दा बढी मात्रामा नदीजन्य पदार्थ उत्खनन र भण्डारण गरेको पाइएपछि नगरपालिकाले वैशाख मसान्तबाट उत्खननमा प्रतिबन्ध लगाउने तयारी गरेको नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो । उहाँका अनुसार “यहाँका कतिपय क्रसरहरूले तोकिएको मापदण्ड भन्दा बाहिर गई ठुलो परिमाणमा ढुङ्गा, बालुवा जम्मा गरेको पाइयो, त्यसैले अब उत्खननमा रोक लगाउन आवश्यक देखिएको छ।”
नगरपालिकाको संयुक्त टोलीले वैशाख १६ गते गरेको अनुगमनका क्रममा तिनपिप्ले निर्माण सेवा, सोना क्रसर उद्योग प्रा.लि. जाल्पा इन्फ्रास्ट्रकचर प्रा.लि. र पाल्चोकीमाई रोडा ढुङ्गा उद्योग प्रा.लि.ले मापदण्ड भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि वैशाख १८ गते भित्रमा बढी उत्खनन भएको ठाउँका खाल्डा खुल्डी पुरी सक्न निर्देशन दिएको थियो ।
सशस्त्र प्रहरी, जनपद प्रहरी र पत्रकारहरूको सुयुक्त टोलीले उक्त निर्देशनको के कस्तो पालना भएको छ भन्दै आज गरेको अनुगमनका क्रममा तिनपिप्ले निर्माण सेवाले निर्देशनको पालना नगरेको पाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिनुभयो ।
वैशाख १६ गते अनुगमनका क्रममा मेलम्ची–१३ फटकशिलामा सञ्चालित एकोन क्रसर एग्रिगेट प्रा.लि.ले मापदण्ड विपरीत पोखरीहरू निर्माण गरी उत्खनन गरेको पाइएको थियो भने मेलम्ची फट्केश्वर इन्द्रावती स्टोन प्रा.लि.ले नदिको धार नै परिवर्तन गराई अत्यधिक गहिराइमा उत्खनन गरेको भेटिएको थियो । मापदण्ड विपरीत उत्खनन कार्यमा प्रयोग भएका उक्त क्रसर उद्योगका एक्साभेटरहरु नियन्त्रणमा लिई रु ५० हजार दण्ड जरिवाना समेत गरिएको मेलम्ची नगरपालिकाका सूचना अधिकारी इन्जिनियर जित बहादुर कार्कीको भनाई छ ।
इन्द्रावती नदी क्षेत्रमा रहेका अधिकांश क्रसरहरूले नदिका धार नै परिवर्तन गराई मापदण्ड विपरीत उत्खनन गर्दै आएका कारण तटीय क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमिन बाझिएका छन् भने माझी समुदायको पुर्खौली पेशा नै सङ्कटमा परेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button