मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आजबाट शुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले वर्तमान सरकारको विश्वास नभएको भन्दै सदनमा अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो ।
साढे ३ वर्षमा कुनै पनि उल्लेखनीय काम वर्तमान सरकारले गर्न नसकेको आरोप लगाउँदै उहाँले अविश्वासको प्रस्ताव ल्याइएको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले चालु संसद् अन्त्य भएका बेला अविश्वासको प्रस्ताव दर्ता गराउँदै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख अमिक शेरचनसामु निवेदन दिएका थिए । सोही अनुरूप प्रदेश प्रमुखले सोमबारका लागि विशेष अधिवेशन बोलाउनु भएको थियो ।
मुख्यमन्त्री विरुद्धको अविश्वासको पक्षमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले भने हस्ताक्षर गरेको छैन । आज प्रस्तावक नेपालीसहित सत्ता पक्ष र विपक्षी दलका सांसदले प्रदेश सभामा आ–आफ्नो धारण राखेका छन् । भोलि पनि बाँकी सांसदहरुले बोल्ने र १५ गते मतदानमा जाने कार्यसूची रहेको छ ।
आज बोल्ने सत्ता पक्षका सांसदहरुले वर्तमान सरकारले जनताले प्रत्यक्ष विकासको अनुभूति गर्ने गरी वर्तमान सरकारले उत्कृष्ट काम गरेको बताउँदै पदको लालचका कारण अविश्वासको प्रस्ताव पेश भएकाले यो पास हुन नसक्ने बताएका छन् भने विपक्षी दलका सांसदले सरकारले काम गर्न नसकेका कारण अविश्वासको मत ल्याउन परेको बताएका छन् ।
गण्डकी प्रदेश सभामा सबैभन्दा ठुलो दल नेकपा एमालेका २७ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद दीपक मनाङे पनि एमालेकै पक्षमा छन् । माओवादीका सभामुख सहित १२ जना सांसद छन् भने काँग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् ।








प्रतिक्रिया राख्नुहोस्