बीऊ उत्पादनका लागि भवन निर्माण सुरु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ गोबरैयामा खाद्य, तरकारी तथा फलफूलका बिउ उत्पादनका लागि भवन निर्माण सुरु गरिएको छ ।निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि. ले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन र भीमदत्त नगरपालिकाको साझेदारीमा बीउ स्रोत केन्द्र भवन बनाउन लागेको हो ।
बिउ स्रोत केन्द्र भवन निर्माणमा परियोजनाले ३० लाख तथा भीमदत्त नगरपालिकाले र सहकारीले १०–१० लाख खर्च व्यहोर्ने भएका छन् । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले आज केन्द्रको भवन शिलान्यास गर्नुभएको छ ।
निङ्गलाशैनी सहकारीका संस्थापक अध्यक्ष एवम् कार्यकारी प्रमुख प्रेम सिंह भाटले बिउ स्रोत केन्द्रबाट बीउ उत्पादन गरी नगरका सबै किसानसम्म पुर्याउने तथा कृषि सहकारी संस्थासित सहकार्यमा धान, गहुँ, तरकारी, फलफूलको बिउ उत्पादन गरिने बताउनुभएको छ ।
सहकारी संस्थाले भवन शिलान्याससँगै नगरपालिकाका सबै वडाबाट १०–१० जना बीउ उत्पादन कार्यमा संलग्न गराउने भएको छ । त्यसका लागि कृषि विज्ञ सहितको भेला गरिने सहकारीका अध्यक्ष दिपक प्रसाद जोशीले बताउनुभएको छ ।
स्रोत केन्द्रमा बीउ उत्पादनसहित भण्डारण, ग्रेडिङ र प्याकेजिङ्गका कार्य समेत गरिने कार्यक्रम बनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्