बुद्धकृष्ण बाग श्रेष्ठले आठौँ पटक जिब्रो छेडाए

भक्तपुर । भक्तपुरको बिस्केट जात्राअन्तर्गत मध्यपुर थिमिस्थित बोडेको जिब्रो छेड्ने जात्रामा आज बुद्धकृष्ण बाग श्रेष्ठले आठौँ पटक आफ्नो जिब्रो छेडाएका छन् ।
मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौँ भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ ।
बुद्धकृष्णले यसअघि ७ पटक जिब्रो छेडाइसकेका छन् । बोडेका श्रेष्ठ जातिले मात्रै उक्त जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन रहेको छ ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नाइके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।
जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।
महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरेपछि जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ र ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो।







प्रतिक्रिया राख्नुहोस्