तपाईँ सुन्दै हुनुहुन्छः

बहाना बनाई काममा हुने ढिलासुस्ती स्वीकार्य छैन : प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभएको छ ।
नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार नयाँ नयाँ काम गरी प्रत्येक दिन एक पाइला अघि बढिरहेको रहेको उल्लेख  गर्नुभयो ।
प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनावश्यक ढिलासुस्ती भइरहेको भन्नुहुँदै यो वा त्यो बहानामा हुने कुनै पनि प्रकारका ढिलासुस्ती स्वीकार्य नहुने बताउनभयो ।
प्रधानमन्त्री ओलीले नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन लगानी भित्र्याउने र टेक्नोलोजीको समेत विकास गरिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले डिजिटल नेपाल अभियान अन्तर्गत सरकारले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । उहाँले भूमि सम्बन्धी समस्या समाधान गर्न विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनभयो ।
प्रधानमन्त्री ओलीले नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर भएको उल्लेख गर्नुहुँदै  हाम्रा आनीबानीमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले फेरी कोभिडको सङ्क्रमण बढ्न थालेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्क र सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले नेलिस र मेरो कित्ता एपको सञ्चालनले मालपोत कार्यालय र नापी कार्यालयहरूमा हुने गरेको ढिलासुस्ती र व्यथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो  ।
मन्त्री तुम्बाहाम्फेले प्राविधिक कमजोरी देखाउँदै सेवा प्रवाह रोक्ने प्रवृत्तिको अन्त्य गरी प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले जग्गाको कामलाई सरल बनाउन एपको विकास गरिएको भन्नुहुँदै यसबाट सेवा प्रवाहमा हुने गरेको जटिलता  र दोहोरोपनाको अन्त्य हुने बताउनुभयो ।
महानिर्देशक जोशीले नेलिस एप प्रणालीमार्फत जग्गा दर्ता र नक्सा अद्यावधिक गर्न र मेरो कित्ता प्रणालीमार्फत नक्सा, फल्डबुक र प्लट रजिष्टर प्रिन्ट सम्बन्धी सेवा घरबाटै लिन सकिने जानकारी दिनुभयो ।
नेलिस र मेरो कित्ता प्रणाली पहिलो चरणमा नापी कार्यालयहरू कलङ्की, डिल्ली बजार र भक्तपुरबाट सुरु गरी बिस्तारै सबै कार्यलयहरुमा लागु गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button