चीनद्वारा प्राप्त खोप २५ गतेबाट लगाइने
काठमाडौँ । सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरुद्धको खोप यही २५ गतेदेखि लगाउने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले चीनद्वारा प्राप्त भेरोसेल खोप यहीँ २५ गते देखि काठमाडौँ स्थित तोकिएका अस्पतालहरूमा लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, हिमालय व्यापारमा संलग्न र चीनमा अध्ययनको तयारीमा रहेका व्यक्तिहरूलाई लगाइने निर्णय भएको जानकारी गराउनुभयो ।
यस्तै, आज देशभर १ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ५६ वटा नमूनाको परिक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ ।
आज १ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ ।
हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ९८ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्