तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा जनता आवासका १ सय १९ घर सम्पन्न 

पर्वत । पर्वतमा जनता आवास कार्यक्रममा सूचिकृत १ सय १९ जनाको घर निर्माण सम्पन्न भएको छ ।
जनता आवास कार्यक्रम कार्यान्वयन गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लामा जनता आवास निर्माणको हालसम्मको प्रगति सार्वजनिक गर्दै १ सय १९ घर सम्पन्न भएको जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७५/२०७६ मा सहरी विकास तथा भवन कार्यालयबाट सम्झौता भई जिल्लाका सबै पालिकामा जनता आवास कार्यक्रम सञ्चालनमा छ । घर पाएका सर्वसाधारणहरू खुसी भएका छन् । निर्माणाधीन घरहरूको निर्माण पनि द्रुत गतिमा अगाडी बढेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
नेपाल सरकारले घर विहीन लोपोन्मुख, सीमान्तकृत, विपन्न दलित समुदायको घर बनाउने नीति अनुसार जिल्लामा २०६६/०६७ देखि जनता आवास कार्यक्रम सञ्चालनमा छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा सहरी विकास तथा भवन कार्यालय मार्फत खारेज भएसँगै जनता आवास कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मा पाएको थियो । पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७५ बनाएर यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म निर्माण भएका घरमध्ये फलेवास नगरपालिका–१ कार्किनेटा र कुश्मा नगरपालिका १३ खौलालाकुँरीमा सबैभन्दा धेरै रहेका छन्  ।
कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा ७९ लाख रुपैयाँ बजेट आएको पूर्वाधार कार्यालयका लेखा अधिकृत गौरवदास वैरागीले जानकारी दिनुभयो ।
जनता आवास कार्यक्रम लागु भएका घरमा एक घरले जम्मा तीन लाख ५० हजार रुपैयाँ पाउनेछन् । उनीहरूलाई चार किस्तामा रकम निकासा गरिँदै आएको वैरागीले जानकारी दिनुभयो । जनता आवास कार्यविधि अनुसार लाभग्राहीले कुल अनुदानको १० प्रतिशत लागत सहभागिता गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button