तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप क्रिकेटको विजेता टिमले पाँच लाख रुपैयाँ पाउने

काठमाडौँ । मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिमले नगद पाँच लाख रुपैयाँ पाउने भएको छ । यस्तै उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट सङ्घ क्यानले आगामी २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा मेयर कप प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको अनुमानित खर्च ६५ लाख रुपैयाँ लाग्ने क्यानको योजना छ । त्यसका लागि काठमाडौँ महानगरपालिकाले नगद ५० लाख उपलब्ध गराउने छ भने बाँकी प्रायोजक खोज्नेछ ।

प्रतियोगितामा हालै भएको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टिम र सोही प्रतियोगिता खेलेका प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी अर्को एउटा टिम बनाइने छ ।

प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस र बागमति प्रदेशले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी पाँचौँ टिम भने काठमाडौँ महानगरपालिकाको टिम हुने छ । उक्त टिममा प्रधानमन्त्री कप खेलेका अरू प्रदेशबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरिने छ ।

२९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख र उप विजेता हुने टिमले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने नेपाल क्रिकेट सङ्घ क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

मेयर कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पनि स्थगित भएको छ । राष्ट्रिय टिमका खेलाडी विभिन्न विभागमा पनि रहेकाले उनीहरूलाई मेयर कपका लागि बन्द प्रशिक्षणबाट केही समयलाई बिदा गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button