तपाईँ सुन्दै हुनुहुन्छः

‘पाँचौँ निर्वाचन दिवस : मतदातालाई निर्वाचनमा सक्रियता पूर्वक सहभागी हुन आह्वान’

काठमाडौँ । निर्वाचनमा सबै, सधैँ, सँगै भन्ने मूल नाराका साथ निर्वाचन आयोगले भोलि पाँचौँ निर्वाचन दिवस मनाउँदै छ ।

नेपालमा पहिलो पटक बालिग मताधिकारको आधारमा निर्वाचन भएको दिन २०१५ फागुन ७ गतेको स्मरणमा आयोगले वि.सं.२०७३ साल फागुन ७ गतेदेखि निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ ।

प्रमुख आयुक्त थपलियाले मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलता अनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नु हुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवम् प्रशंसा गर्नुभएको छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनको दीर्घकालीन सोचसहित हासिल गरेको उपलब्धि एवम् प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिष्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लागेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति स्वीकृत गरेको हुँदा त्यसबाट निर्वाचनमा विद्युतीय सञ्चार एवम् सामाजिक सञ्जालको व्यापक उपयोग हुने आयोगले विश्वास व्यक्त गरेको छ ।
निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौँ निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण निकाय, सङ्घ संस्था तथा महानुभावप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button