अव्यवस्थित बिजुलीका तारले दुर्घटना जोखिम बढायो

सल्यान । सल्यानका अधिकांश स्थानमा रहेका बिजुलीका तारले दुर्घटना जोखिम बढाएको छ ।
सडकमा रहेका बिजुलीका तार अव्यवस्थित हुँदा चालु आर्थिक वर्षमा दुई जनाले ज्यान गुमाइसकेका छन् भने सात जना घाइते भएका छन् ।
बिजुलीका पोलहरू गाड्दा सुझबुझ नअपनाउँदा अहिले जोखिम बढेको स्थानीयको भनाई छ ।
अव्यवस्थित रुपमा फिजारिएका तारले झन्डै आफ्नो ज्यान लिएको बनगाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारकी गोल्मा बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाख्रालाई घाँस ल्याउन भनेर आफ्नै बारीमा गएकी थिए डोरी सम्झेर कतिखेर तार समाएछु थाहै भएन । पछि अस्पतालमा भर्ना घरेपछि मात्र होसमा आए ।’
सल्लीबजारकै गणेश बहादुर बुढाथोकीले बारीमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएको बताउनुभयो । आफ्नै बारीमा कोदोलोले खन्ने क्रममा तारमा छुँदा करेन्ट लागेको उहाँले बताउनुभयो ।
जिल्लाका अधिकांश स्थानमा अव्यवस्थित रुपमा तानिएका तारले दुर्घटनाको जोखिम बढी रहेको सल्लीबजार बजार व्यवस्थापन समितिका अध्यक्ष शिव बहादुर वलीले बताउनुभयो ।
पटक पटक स्थानीय पालिका र विद्युत् प्राधिकरणलाई व्यवस्थापन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘बिजुलीको करेन्ट लागेर अहिलेसम्म सात जना घाइते भइसकेका छन् । छिटो जोखिम कम गर्न विद्युत् प्राधिकरणलाई आग्रह गरियो केही हुँदैन नगरपालिकाले त झनै हाम्रा कुरै सुन्दैन ।’
१० /१२ वर्ष अघिका काठका पोल कुहिँदा यस प्रकारको समस्या आएको नेपाल विद्युत् प्राधिकरण सल्यानले जनाएको छ ।
जहाँ जहाँ काठ पोल रहेका छन् ती पोल हटाउँदै गएको र जोखिमयुक्त स्थानको पहिचान गरी समस्या समाधानमा लागि परेको कार्यालयका प्रमुख धर्मपति यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्