बाजुरामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार
बाजुरा। अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था जटिल बनेकी बाजुराकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

गौमुल गाउँपालिका–५ की २६ वर्षीया मनिसा रोकायालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको हो।
९ दिनअघि गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी भएकी रोकायालाई सोमबार परिवारले जिल्ला अस्पताल, मार्तडी ल्याएका थिए। तर, अत्यधिक रक्तश्रावका कारण अवस्था जटिल बन्दै गएपछि प्राथमिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
अस्पतालका चिकित्सकले तत्काल सुविधासम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो। सोमबार साँझ नै उद्धारको प्रयास गरिए पनि समय अभाव र प्रतिकूल मौसमका कारण सम्भव नभएपछि मङ्गलवार बिहान सुर्खेत पठाइएको प्रजिअ निरौलाको भनाइ छ।








प्रतिक्रिया राख्नुहोस्