९ वर्षसम्म पनि पुल बन्न सकेन
कैलाली । कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ स्थित कन्द्रा नदीमाथि पुल बन्न शुरु भएको ९ वर्ष बितेको छ । २०६८ सालबाट निर्माण कार्य शुरु भएको उक्त पुलको अहिलेसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत बन्न लागेको उक्त पुलको साढे २ वर्षमा निर्माण सम्पन्न गर्ने गरी विरुवा लामा साल्पा शेर्पा कम्पनीले ठेक्का लिएको थियो । तर ९ वर्ष बित्दा समेत पुल बन्न सकेको छैन । ४ वटा स्पान र ५ वटा पिल्लर भएको पुलको ९ वर्ष बित्दा समेत एउटा स्पान र ४ ओटा पिल्लर मात्र निर्माण भएको देखिन्छ ।
निर्माण कार्य शुरु भएको लामो समयसम्म पनि पुल नबन्दा त्यहाँका नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या भइरहेको भजनी नगरपालिका वडा नम्बर ३ का स्थानीय सिताराम चौधरीले बताउनुभयो ।
भजनी नगरपालिकाको वडा नम्बर ५ र ७ का स्थानीयवासी लाई भजनी नगरपालिकामा आउन त्यो नदी तर्नै पर्ने हुन्छ । त्यसले गर्दा निकै समस्या हुने गरेको स्थानीय श्यामलाल थारुले बताउनुभयो ।
लामो समयसम्म पुल नबन्दा भजनीको मात्र नभई हुलाकी राजमार्गको पनि गति कम भएको छ । राजमार्ग सञ्चालनमा समस्या भएको छ । यसरी पटक–पटक थपिएको म्यादमा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरिनु पर्ने स्थानीयको माग छ ।
बिरुवा लामा साल्पा शेर्पा कम्पनीले आफ्नो तर्फबाट कुनै लापरबाही नभएको प्रतिक्रिया दिएको छ । सुरुमा डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको र पछि साझेदारहरूले काम नगर्दा ढिलाइ भए पनि अहिले काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ । कोरोनाका कारण केही समस्या आए पनि यो आर्थिक वर्ष भित्र पुल निर्माणको काम सम्पन्न हुने कम्पनीका साइड प्रतिनिधि नगेन्द्र रावतले बताउनुभयो ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका अनुसार ४ करोड ४२ लाख रुपैयाँ लागतको पुल निर्माणको म्याद थप गर्दै २०७७ माघसम्म पुर्याइएको छ । कुनै पनि भौतिक पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरी समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याई कारबाही नगर्दासम्म यस्ता समस्या आइरहने देखिन्छन् । त्यसका लागि सरकारी निकाय चनाखो हुन जरुरी देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्