प्रधानमन्त्री ओलीको समर्थनमा जनकपुरमा मोटरसाइकल र्याली
जनकपुरधाम । यूवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको अगुवाईमा जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थन गर्दै आज मोटरसाईकल र्याली प्रदर्शन भएको छ ।
जनकपुर विमानस्थलबाट निस्केको मोटरसाइकल र्यालीले जनकपुरधाम नगरको परिक्रमा गर्दै जनकपुरधामको उद्योग वाणिज्य संघमा पुगेर भेलामा परिणत भएको थियो ।
कार्यक्रममा यूवा संघका अध्यक्ष बस्नेतले केपी ओली नेतृत्वको सरकारले विभिन्न बाधा अवरोधका बीचमा नेपाली जनता तथा देशको समृद्धिका विकास निर्माणमा तीब्रता दिनुभएको, राष्ट्रियताको जगेर्ना गर्नुभएको र समृद्ध देशमा समृद्ध मधेशका पक्षमा थुप्रै काम गर्नुभएको बताउनुभयो ।
उहाँले अब मुलुक चुनावमा होमिइसकेको बताउँदै सरकारले गरेका कामकाजका बारेमा जनतालाई बुझाउनका लागि यूवा संघका कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य योगनारायण यादवसहितका वक्ताहरुले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्