तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका दुई ठुला विमानस्थलको स्तरोन्नति हुँदै 

सुर्खेत ।  कर्णाली प्रदेशका दुई ठुला विमानस्थलको स्तरोन्नति हुने भएको छ ।

सरकारले धेरै वर्षपछि कर्णालीको हवाई सेवालाई गुणस्तरीय बनाउन सुर्खेत र जुम्ला विमानस्थल स्तरोन्नति गर्न लागेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको प्रदेशका पदाधिकारीहरूको बैठकले प्रदेशको राजधानी सुर्खेतमा भएको विमानस्थललाई प्रदेश स्तरको विमानस्थलका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

बैठकले सुर्खेत विमानस्थललाई सुविधासहितको विमानस्थलका रुपमा विकास गर्ने दीर्घकालीन सोचसहित हाललाई एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने गरी विकास एवं विस्तार गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने बैठकमा निर्णय भएको छ, ।’

मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले भन्नुभयो, ‘विमानस्थल विस्तार एवं स्तरोन्नतिका क्रममा आउन सक्ने विविध समस्या समाधान गर्न प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गर्नेछ ।’

उहाँले बैठकमा जग्गा प्राप्ति प्रक्रिया शीघ्र अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिन भित्र मुल्याङकन समितिको बैठक आव्हान गरी काम अघि बढाउने निर्णय भएको जनाउनुभयो ।

उहाँका अनुसार मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम मध्ये ५ प्रतिशत वीरेन्द्रनगर नगरपालिकाले व्यर्होने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीसहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खडका, प्रदेश सांसद, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी, प्रदेश सरकारका सचिवहरू, सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलगायतको सहभागिता रहेको थियो ।

जुम्ला विमानस्थलको स्तरोन्नति हुँदै
प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठुलो सहर जुम्ला विमानस्थलको स्तरोन्नतिको कार्य अघि बढाइएको छ ।

विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्रता दिएको हो ।

चालु आर्थिक वर्षदेखि बहु वर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तारको काम सुरु हुने प्राधिकरणले जनाएको छ ।

कर्णालीका हिमाली जिल्लामा यात्रु तथा कार्गो उडानका बढी चाप मानिने जुम्ला विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जुम्लाबाट जहाजमा यात्रुको चाप बढ्दै गएकाले विमानस्थल विस्तार भएपछि हवाई यात्रा थप सहज र गुणस्तरीय हुने चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।

सिमकोट–नेपालगञ्जको भाडा घट्यो
हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लाको सिमकोटदेखि नेपालगञ्जसम्मको भाडा दर घटाएको छ ।

यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५ सय ९५ भाडा लिँदै आएकोमा घटाएर अहिले ५ हजार ३ सय रुपैयाँ कायम गरिएको एयरलाइन्सका सिमकोट शाखाका प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभयो ।

उहाँले नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण केन्द्रीय कार्यालयमा हुम्ला शाखाबाट भाडा घटाउन आग्रह गरेपछि बुधवारदेखि घटाइएको बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जदेखि सिमकोटसम्म सात हजार ९ सय रुपैयाँ भाडा कायम गरिएको छ । एयरलाइन्सले हुम्लामा साताको १ दिन सोमबार उडान भर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button