पुर्जाविहीन अवस्थामा रहेका ६ सय ५० घरपरिवारलाई लालपुर्जा वितरण
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ६ सय ५० जनाले लालपुर्जा पाएका छन् ।
वर्षौँअघि नाप जाँच भएर त्यत्तिकै रोकिएका साबिकका मोतीपुर र सेमलारका गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घरपरिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरिएको हो ।
नगर प्रमुख सुवेदीले मोतीपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्ने गरी योजना बनिरहेको बताउनुभयो ।
ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्ययन पूरा भइसकेको उहाँको भनाइ छ ।
नापी कार्यालय रुपन्देहीका २ नम्बर टोली प्रमुख यमप्रसाद पाण्डेले वर्षौँदेखि भोग चलन गर्दै आएको जग्गाको स्वामित्व प्रदान गर्न जनप्रतिनिधिको समन्वयकारी र नेतृत्वदायी भूमिकाले सहज भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्