तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एकै परिवारका तीन को ज्यान गएपछि सुर्नया गाउँपालिका शोकमा

बैतडी । डोटीमा भएको जिप दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका–६ मूलखटालीका एकै परिवारका तीनजनाको ज्यान गएपछि पुरै गाउँ शोकमा डुबेको छ । आइतबार राती डोटीको दिपायलबाट बोगटान तर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २८ बर्षीया मञ्जु त्रिपाठी अवस्थी, उहाँका ६५ बर्षीया सासुआमा डम्मरी अवस्थी र उहाँका ३ बर्षीय छोरा मिलन अवस्थीको मृत्यु भएको हो ।

एकैगाउँका तीनजनाको मृत्यु भएपछि गाउँ शोकमग्न भएको स्थानीय अम्बादत्त अवस्थीले जानकारी दिनुभयो । एकैघरका तीनजनाको मृत्यु भएकाले गाउँ पुरै शोकमग्न भएको छ उहाँले बताउनुभयो ।

दुर्घटनामा परी मृत्यु भएकी मञ्जु डोटीको बोगटान फुड्सील गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत रहनुभएको थियो । सुर्नया गाउँपालिकामा काज सरुवा गर्ने तयारी भएकै बेला दुर्घटना परी उहाँको निधन भएपछि आफ्नै गाउँमा सेवा गर्ने उहाँको योजना अधुरै रह्यो । मृतक मञ्जुका श्रीमान मदनराज अवस्थीले भन्नुभयो ‘शाखा अधिकृतमा नाम निकाल्छु भन्थिन । तर दैवले मेरो घरबास उडायो । घरमा बोल्ने मान्छे समेत बाँकी राखेन । पापी दैवले मेरो घरपरिवार उजाड बनायो । सानैमा बुवाको मृत्यु भयो ।’ अहिले आमा, श्रीमती र छोरा एकै दिन गुमाएको हुदाँ थाक्नै नसकिने पिडा खेप्नु परेको उहाँले बताउनुभयो ।

एकैघरका तीनजनाको एकैचिहान भएपछि गाउँमा रुवाबासी चलेको स्थानीय भगिरथ कुवरले बताउनुभयो । मृतक मञ्जुका पति मदन स्थानिय चुनावमा वडाअध्यक्षका उम्मेदवार थिए भने, उनि रिलायवल लाइफ इन्स्योरेन्सका बैतडी शाखा प्रमुख हुन् । एकै घरका तीनजनाको यसरी अकल्पनिय निधनपछि सुर्नया गाउँपालिका परिवार सोकमा डुबेको सुर्नया ४का वडाअध्यक्ष दिनेश प्रसाद भट्टले बताउनुभयो ।

बैतडीमा एक महिना नपुग्दै ९ परिवारले आफ्ना आफन्त गुमाएका छन् । गत कार्तिक २८ गते खोड्पेमा भएको बस दुर्घटनामा एकै वडाका तीनजनाको ज्यान गएको थियो ।

गत मंसिर ९ गते भएको जिप दुर्घटनामा जिल्लाका ५ जनाले ज्यान गुमाएका थिए । आइतबार राती भएको दुर्घटनामा एकै घरका तीनजनाको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button