परीक्षणका लागि लिइएका सबै नमुना भण्डारण गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको परीक्षण गर्न लिइएका सबै नमुनाहरू भण्डारण गरी राख्न सम्पूर्ण प्रयोगशालाहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सङ्क्रमणको परीक्षणका लागि लिइएका नमुनाको नतिजा समेत खुलाई भण्डारण गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा.डा. गौतमले सबै अस्पताल तथा प्रयोगशालाहरूले नेगेटिभ नतिजा आएका नमुना एक महिना र पोजेटिभ नतिजा आएका नमुना ३ महिनासम्म भण्डार गरी राख्नुपर्ने बताउनुभयो ।
यस्तै नमुना परीक्षण भण्डारण गर्ने निर्णय पालना नगरेको पाइएका चार अस्पताललाई २४ घण्टा भित्र स्पष्टीकरण दिन माग गरेको छ ।
प्रा.डा गौतमले निर्णय पालना नगरेका स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यावरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण माग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
यसै गरी वैदेशिक यात्रा प्रयोजनका लागि पिसीआर रिर्पोट लिन आउने सबैको परिक्षण ए–लेवलका प्रयोगशालाबाट मात्र गर्ने र सोको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायतका सरोकारवाला निकायलाई दिनुपर्ने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
यस्तै प्रवक्ता प्रा.डा. गौतमले परीक्षण गर्न नमुना दिने व्यक्तिहरूको नेपाल सरकारद्वारा जारी परिचय पत्र हेरेर मात्र परिक्षण गर्न गराउन, विदेशबाट नेपाल आउने सबै नागरिक अनिवार्य १४ दिन क्वारेनटाइन राख्न र लक्षण देखिएमा मात्र नमुना परिक्षण गर्न गराउन निर्णय भएको जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमणबाट आज थप ५ हजार ६ सय ९९ जना निको, १ हजार ६ सय ६९ जनामा सङ्क्रमण, १६ जनाको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट आज थप ५ हजार ६ सय ९९ जना निको भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको कूल सङ्ख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९० दशमलव ३ प्रतिशत रहेको छ ।
यसै गरी आज थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
आज ८ हजार ३२ वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा १ हजार १४ जना पुरुष तथा ६ सय ५५ जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँ उपत्यकामा ५ सय ४२ जना पुरुष र ४ सय १५ जना महिला गरी जम्मा ९ सय ५७ जना सङ्क्रमित थपिएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ ।
आज देशभर गरी २० हजार १ सय ६६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमित मध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसन तथा बाँकी ६ हजार ५ सय ४ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।
यसै गरी आज कोरोना सङ्क्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कूल सङ्ख्या एक हजार ३ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्