सप्तरीमा कोरोना सङ्क्रमणका कारण ५२ वर्षीय एक जना पुरुषको मृत्यु

उत्सव आचार्य
सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणका कारण ५२ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।
राजविराज नगरपालिका–२ का ५२ वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार राती नोबेल अस्पताल बिराटनगरमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको हो ।
उनी नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव हुन् । सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा शाखा प्रमुखका रुपमा कार्यरत स्वास्थ्यकर्मी देव कोभिड सङ्क्रमणको उपचार गराइरहेका थिए ।
विराटनगरमा उपचाररत देवको १० दिन अघि कोरोना रिपोर्ट नेगेटिभ आएको परिवारका सदस्यले बताएका छन्।् । रिपोर्ट नेगेटिभ आएपनि कोरोनाकै कम्प्लिकेशनले गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका बरिश्ठ मलेरिया इन्स्पेक्टर नारायण राउतले बताए ।
राउतका अनुसार कोरोनाले फोक्सो र किडनीमा असर गरी कमजोर बनाएको तथा सो महत्वपूर्ण अंगले राम्रोसँग काम गर्न नपाएकाले देवको रिपोर्ट नेगेटिभ आए पनि सोही जटिलताका कारण देवको मृत्यु भएको हो ।
रिपोर्ट नेगेटिभ आएपछि आइसियुमा सारिएका देवको स्वास्थ्य अवस्थामा जटिलता आएपछि पुनः भेण्टिलेटरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्