नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत्ः सहरी विकास मन्त्री श्रेष्ठ

भक्तपुर । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् भएको बताउनुभएको छ ।
नेपाल संवत् ११४१ को अवसरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नयाँ थिमिमा आयोजना गरेको मध्यपुरथिमिको शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपाल संवतको नयाँ दिनले हरेक वर्ष सबैलाई यसका प्रणेता शंखधर साख्वाको योगदानलाई सम्झाउने गरेको बताउनुभयो ।
उहाँले समाजसेवी साख्वाले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा उहाँको उदारताको कदर गरेर राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको उल्लेख गर्नुभयो ।
उहाँले जनताको ऋण मोचन गरेर मौलिक संवत् चलाउने व्यक्तित्व कुनै जात विशेषको मात्र नहुने उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठले सरकारले राजधानीको रत्नपार्कमा शंखधरको सालिक बनाइरहेको बताउँदै नेपाल संवतलाई सरकारी कामकाजमा तथा व्यवहारिक प्रयोगमा ल्याउन चौतर्फी सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
देशकै नामबाट प्रचलित नेपाल संवतलाई व्यवहारिक प्रयोगमा ल्याउन र विक्रम संवत् तथा इस्वी संवतका तिथीमितिमा समेत तालमेल मिलाउन बनाइने समितिमा सबै समुदायका सरोकारवालालाई समेटेर अगि बढ्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा पुर्वमन्त्री तथा सङ्घीय सांसद महेश बस्नेतले नेपाल संवतको व्यवहारिक प्रयोग र राष्ट्रिय शंखधर संग्राहलय निर्माणका लागि स्पष्ट ऐन, कार्यविधि र नीति बनाएर जानुपर्नेमा जोड दिँदै आफ्नो तर्फबाट यसका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्वमन्त्री तथा सङ्घीय सांसद भीमसेनदास प्रधानले शंखधर कुनै जात विशेषको मात्र नभएको बताउँदै उनलाई नेवार समुदायले आफ्नो पेवा जस्तो मात्र नबनाएर सबैको साझा बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद राजेन्द्रमान श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्यामकृष्ण मानन्धर लगायतले शंखधर र नेपाल संवतलाई सरकारले संरक्षण र प्रवर्द्धनका लागि आर्थिक तथा भौतिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४१ को अवसरमा पठाउनुभएको सन्देश पढेर सुनाइएको थियो ।






प्रतिक्रिया राख्नुहोस्